काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम(लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सो धारणा राखेका हुन् ।
उनले जारी गरेको शुभकामना सन्देशमा लेखिएको छ, ‘देशको परिवर्तन र अग्रगमन सहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम-लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प हो ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा देशव्यापीरुपमा एकैसाथ सम्पन्न स्थानीय निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको पनि बताए ।
‘निर्वाचनमा जित-हार भन्दापनि संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया विजयी बनेकोमा हामी हर्षित छौं । गणतन्त्र दिवसको यस अवसरमा निर्वाचनमा विजयी जनप्रतिनिधि एवं सहभागी सम्पूर्ण दिदीबहिनी तथा दाजभाइहरुमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछौं,’ उनले भनेका छन् ।