ओलीलाई प्रधानमन्त्री देउवाको जवाफ – ईपीजी प्रतिवेदन तीन वर्ष पहिले बनेको हो, आफू प्रधानमन्त्री हुँदा के हेरेर बसेको

 प्रधानमन्त्री     २०७९, १४ जेष्ठ शनिबार २१:२२     222 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन तीन वर्ष पहिले बनेको भन्दै त्यतिबेला किन नबुझेको भनेर प्रश्न गरेका छन् । ईपीजी प्रतिवेदन बुझ्न पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले गरेको प्रश्नको जवाफमा देउवाले उक्त कुरा भनेका हुन् ।

सन् २०१९ मा तयार भएको ईपीजी प्रतिवेदन सरकारले किन नबुझेको भनेर ओलीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्रीलाई ओलीले सोधेका थिए । त्यसको जवाफमा देउवाले भने, ‘प्रबुद्ध समूहको प्रतिवेदन तीन वर्षपहिले नै तयार भएको सबैलाई थाहा छ । त्यो प्रतिवेदन त्यतिबेला नै बुझ्नुपर्थ्यो किन बुझिएन ?’

प्रधानमन्त्री देउवाले प्रतिवेदन बुझ्ने वातावरण बनाउन सरकार लागिरहेको बताएका छन् । उनले भने, ‘तथापि उक्त प्रतिवेदन बुझ्ने वातावरण बनाउने सरकार निरन्तर क्रियाशील छ ।’

कूटनीति सम्बन्धमा पर्याप्त सावधानी अपनाउनुपर्ने देउवाको भनाइ थियो । देउवाले सरकार एक चीन नीतिप्रति स्पष्ट रहेको पनि बताए । उनले छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए । विगतमा चीन विरोधीलाई आफ्नै सरकारको पालामा प्रतिबन्ध लगाएको स्मरण गरेका थिए ।