पोखरामा आधा गणना सकिँदा गठबन्धनका आचार्य ३४४२मतले अघि

 स्थानीय निर्वाचन २०७९     २०७९, ७ जेष्ठ शनिबार ०७:१०     225 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – पोखरा महानगरपालिकामा मतगणना जारी छ।

हालसम्म ५० प्रतिशत भन्दाबढी गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म १६ वटा वडाको नतिजा आइसकेको छ।

जसमध्ये नेपाली कांग्रेसले ११ वटा वडा र नेकपा एमालेले ५ वटा वडामा जित हासिल गरेको छ।

महानगरका २, ३, ४, ७, ९, १२, १३, २३, २४, २५ र २६ वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने १, ५, ६, ८ र २० वडामा नेकपा एमालेले जितेको छ।

अहिले १०, ११, १४, १५, १६, २७, २८ र २९ गणना भइरहेको छ। केहिबेरपछि १७, ३० र ३१ को मतगणना गर्न लागिएको छ।

१६, १७, २१, ३३ लगायत वडाहरुमा बढी मतदाता छन्। ५० प्रतिशतभन्दा बढी गणना सकिँदा गठबन्धन उम्मेदवारको अग्रता कायम छ।

सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यले २९ हजार ८ सय ७ मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले २६ हजार ३ सय ६५ मत प्राप्त गरेका छन्।

७२ हजार ९ सय १८ मत गणना हुँदा आचार्यले ३ हजार ४ सय ४२ मतले अग्रता कायम गरेका छन्।

मेयरका अर्का उम्मेदवार राप्रपाका शंकर प्रसाद खरालले ३ हजार १ सय ४५ र लौरो चिन्हका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले १ हजार ९ सय ६६ मत पाएका छन्।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट झिनो अन्तरले अगाडि छिन्।

उनले ३० हजार २ सय ६० मत ल्याएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ३० हजार १ सय ७६ मत प्राप्त गरेकी छन्।