संसद अवरोध हट्यो, एमालेले भन्यो- देश संकटतर्फ धकेलियो, सार्थक बहस हुन जरुरी छ

 एमाले     २०७९, ३ जेष्ठ मंगलवार २०:४२     472 जनाले पढ़िसके



Spread the love

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा फरक ढंगबाट विरोध गर्ने जनाएको छ। यसअघि निरन्तर संसद अवरोध गर्दै आएको एमालेले संसद सञ्चालन गर्ने दिने र फरक ढंगबाट विरोध गर्ने जनाएको हो।

एमाले नेता प्रदीप ज्ञवालीले देश चरम आर्थिक संकटतर्फ धकेलिएकाले त्यस सम्बन्धमा बहस हुन जरुरी रहेको बताए। ‘यसअघि हामीले जुन माग मुद्दाका लागि संसद अवरोध गर्दै आएका थियौं। हाम्रा ती मागहरु आज पनि यथावत छन्। देश नै राष्ट्रिय संकटतिर धकेलिरहेको अवस्थामा अब हामी फरक ढंगले विरोध गर्नेछौं,’ उनले भने।

उनले देश संकटतिर धकेलिरहँदा सरकारले नजरअन्दान गरिरहेको बताए। ‘देश संकटमा गएको सरकारलाई नलाग्ला तर प्रत्येक घर र गृहणीलाई महँगीको कति भार छ, हामीले बुझेका छौं,’ उनले भने।

उनले विदेशी मुद्राको सञ्चिती शून्य अवस्थामा पुगेको पुँजीगत खर्चको अवस्थासमेत नाजुक अवस्थामा रहेको बताए। संकटबाट बचाउन सार्थक बहस आवश्यक रहेको भन्दै अर्थतन्त्रलाई लयमा फर्काउन र रातो बत्तिलाई हरियो बनाउनका लागि एमालेले फरक ढंगबाट विरोध गर्ने उनले बताए।

उनले प्रधानमन्त्री र मन्त्रीहरुलाई निन्द्राबाट ब्युँझिनसमेत आग्रह गरे। ‘यस्तो संकटमा सरकार र तिनका मन्त्रीहरु अवैध स्रोतहरुबाट आएकालाई साबुन पानीले धुने, स्वयत्त संस्था वा निकायमाथि हस्तक्षेप गर्न उद्यत छन्? यतिका हस्तक्षेप किन र के का लागि?,’ उनको प्रश्न थियो।