एमालेले भने यसअघि जस्तै विरोध जारी राख्ने जनाएको छ । एमालले भदौ २३ देखि संसद्मा विरोध जारी राखेको छ । एमालेले माधवकुमार नेपालसहितका नेतालाई सांसदबाट हटाउन सिफारिस गरेको थियो । तर सभामुख अग्निप्रसाद सापकोटाले उक्त सिफारिस कार्यान्वयन नगरेको भन्दै उसले संसद् अवरोध जारी राखिरहेको छ । सभामुखले राजीनामा दिनुपर्ने वा कारबाहीको सूचना टाँस्नुपर्ने एमालेको माग छ । ‘सरकार र सभामुखले हाम्रा माग सुनुवाइ नगरेकाले विरोध यथावत् रहन्छ,’ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘नीति तथा कार्यक्रम पेस गर्ने दिन भने विरोधको शैली फरक पार्छौं ।’ सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउँदै छ । संयुक्त सदनमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । यो दिन विरोध गर्ने वा नगर्ने विषयमा एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा छलफल भएको बताइएको छ ।
‘त्यो दिन पनि विरोधचाहिँ गर्ने तर कसरी अघि बढ्ने निधो भइसकेको छैन,’ भट्टराईले भने । जेठ १५ मा सरकारले आउँदो वर्षको विनियोजन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । विनियोजन विधेयक ल्याउनुभन्दा १५ दिनअघि नै बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी अर्थमन्त्रीले प्रस्ताव गर्नुपर्छ ।
