नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद चल्न नदिएको भन्दै आपत्ति जनाएका छन्।
धनुषाको जनकपुरधाममा शनिबार आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले लामो समयसम्म गरेको संसद अवरोधप्रति आपत्ति जनाएका हुन्।
‘लहडबाजीमा संसद भंग गर्न मिल्दैन। त्यस्तै अवस्था पर्यो भनेमात्र हो,’ सभापति देउवाले भने, ‘संसदमा विरोध गर्नासाथ विरोध सहन नसक्ने संसद भंग गरिहाल्ने। त्यस्तै अदालतमा गएर संसद फिर्ता ल्यायौँ। फिर्ता ल्याए पनि संसद चल्न नदिने।’उनले मुलुकको संविधान नेपाली जनताका प्रतिनिधिले संविधानसभाबाट बनाएको संविधान भएको पनि बताए।
‘यो संविधानसभाले बनाएको संविधान हो। यो एउटा पार्टीले बनाएको संविधान होइन। सम्पूर्ण नेपालीका प्रतिनिधिले बनाएको संविधान हो,’ देउवाले भने।
प्रधानमन्त्रीसमेत रहेका देउवाले अदालतबाट न्याय पाएपछि आफ्नो नेतत्वमा सरकार बनेको पनि बताए।
उनले सरकार गठनमा सघाएको भन्दै सत्ता साझेदार दलहरूका शीर्ष नेताहरु प्रति आभारसमेत व्यक्त गरे।
‘यो सरकार ओलीले भंग गरेपछि अदालतबाट न्याय पाएर बनेको सरकार हो,’ देउवाले भने, ‘माधव नेपालजी, प्रचण्डजी, उपेन्द्रजी सबैले मलाई प्रधानमन्त्री बनाउनुभयो। त्यसकारण पार्टीका तर्फबाट पनि उहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’