काठमाडौं– प्रहरी महानिरीक्षक बढुवा विवादमा दुई दिनदेखि चलिरहेको बहस सकिएको छ। बुधबारदेखि न्यायाधीश शुष्मालता माथेमाको इजलासमा बहस भइरहेको थियो।
सरकारले पहिलो वरियतामा रहेका विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाई तेस्रो नम्बरमा रहेका धीरजप्रताप सिंहलाई बनाएपछि यो विवाद सर्वोच्च पुगेको थियो। पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा जुनियरले प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरित बढुवा गरेको जिकिर गर्दै रिट दायर गरेका थिए।
उक्त रिटको पहिलो सुनुवाइमै दुवै पक्षको बहस भएको छ। सरकारी पक्षले हस्तक्षेप बहस वुधवार नै गरेका थिए। सरकारका तर्फबाट महान्यायाधिवक्ता खम्बबहादुर खातीसहितको टोलीले सरिक हुन पाउँ भनी निवेदन दिँदै बहस गरेका थिए।
निवेदकहरुको बहसपछि उनीहरुले अन्तरिम आदेश जारी गर्न नहुने माग गरेका थिए। पहिलो दिन धेरै कानुन व्यवसायी भएपछि बहस बाँकी रहेकाले हेर्दाहेर्दै राखिएको थियो। बिहीबार निवेदक पोखरेलका पक्षबाट जवाफी बहस भएको थियो।
जवाफी बहसका क्रममा पोखरेल आफैले पनि आफ्नो कुरा राखेका थिए । सबै पक्षको बहसपछि अब आदेश सुनाउने चरणमा सुनुवाइ पुगेको छ। न्यायाधीश माथेमाले आजै अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे आदेश सुनाउने तयारी गरेका छन्। एकल इजलासले अन्तरिम आदेश जारी गरेमा सरकारले बढुवा गरेका धिरजप्रताप सिंह निलम्वन हुनेछन्। तर, सर्वोच्चले अन्तरिम जारी नगरेमा उनले काम गर्न पाउनेछन्। उनले दर्ज्यानी चिह्न लगाएर कार्यभारसमेत सम्हालिसकेका छन् ।