काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका उम्मेदवारलाई विजयी गराई समाजवादको आधार तयार गर्नु श्रमजीवीको मुख्य कार्यभार भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
नेपाली श्रमजीवीको हक, अधिकारको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका स्थानीय तह निर्वाचनको संघारमा रहेको अध्यक्ष प्रचण्डको भनाई छ । ‘आगामी निर्वाचनमा वाम(लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदुर एवं श्रमजीवी उत्पीडित जनसमुदायको आजको मुख्य कार्यभार हो,’ उनले शुभकामनामा भनेका छन् ।
उनले नेपालमा कम्युनिष्ट क्रान्तिकारी एवम् श्रमजीवी समुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र बलिदानका अनेकौँ कीर्तिमान कायम गरेको बताए । श्रमजीवी समुदायको हक, अधिकारको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि आफूहरू स्थानीय तहको संघारमा रहेको उल्लेख गरेका छन् ।
प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रूपमा आजको दिनलाई लिन सबैलाई उनले आग्रह गरे । ‘आजको दिन प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रूपमा लिन सबै श्रमजीवी जनसमुदाय, सच्चा कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरहरूलाई विशेष आग्रह गर्दछु,’ प्रचण्डले अगाडि भनेका छन्, ‘संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवी वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस् भन्दै पुनः नेपाल र विश्वका मजदुरहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’फोटो:फाइल