जगन्नाथले फिर्ता लिएनन् भरतपुर महानगरबाट मेयरकाे उम्मेदवारी

 स्थानीय निर्वाचन २०७९     २०७९, १६ बैशाख शुक्रबार १७:२९     414 जनाले पढ़िसके



Spread the love

चितवन — भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पाैडेलले उम्मेदवारी फिर्ता लिएनन् । आज पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो ।

दिनभर आफ्नाे घर भरतपुर महानगरपालिका-७ कृष्णपुरमा समर्थक माझ बसेका पाैडेलले उम्मेदवारी फिर्ता लिने समय सकिए लगत्तै संक्षिप्त काेणासभालाई सम्बाेधन गरे ।सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल हुँदा भरतपुर महानगरकाे मेयर पद नेकपा माओवादी केन्द्रको भागमा परेपछि चितवन कांग्रेसमा असन्ताेष चुलीएकाे थियाे ।

गठबन्धनबाट मेयर पदमा माओवादी केन्द्रबाट रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् । कांग्रेसका नेता पाैडेलले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फाेन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । पाैडेलले नमानेपछि प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार भरतपुर पठाएका थिए । तर पाैडेललाई मनाउन नसकेपछि गृहमन्त्री खाँण शुक्रबार दिउँसाे मात्र काठमाडाैं फर्के ।

पाैडेलले उम्मेदवारी दिँदा कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकाेटा प्रस्तावक र कांग्रेस महासमिति सदस्य मिना खरेल समर्थक रहेका थिए ।पाैडेल विसं. २०४९ सालकाे स्थानीय चुनावमा तत्कालिन भरतपुर नगरपालिकाकाे उपमेयरमा कांग्रेसबाट विजयी भएका थिए । उनी राष्ट्रिय सभाका सदस्य भइसकेका व्यक्ति हुन् । ७० वर्षीय पाैडेल वरिष्ठ अधिवक्ता पनि हुन् ।