सर्लाही — आसन्न स्थानीय तहको निर्वाचनका लागि सर्लाहीमा तोकिएका मतदानस्थलमध्ये ९० प्रतिशतभन्दा बढी संवेदनशील मानिएको छ । कुल ३ सय १८ मतदानस्थलमध्ये १ सय ३ मतदानस्थल अति संवेदनशील तथा १ सय ८४ मतदानस्थल संवेदनशीलको सूचीमा राखिएको हो ।
जिल्ला सुरक्षा समितिले भौगोलिक विकटता, यातायातको असुविधा, विगतका निर्वाचनमा दलहरुबीचमा भएका झडप तथा अपराधिक क्रियाकलाप भएको आधारमा वर्गीकरण गर्दा १ सय ३ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको हो । ती मतदानस्थलमा २ सय ५ मतदान केन्द्र रहेका छन् । अति संवेदनशील मतदानस्थलहरु अधिकांश निर्वाचन क्षेत्र नम्वर ३ र ४ का रहेका छन् । यस्तै, जिल्लामा १ सय ८४ मतदानस्थल संवेदनशीलको सूचीमा राखिएको छ । संवेदनशीलको सूचीमा रहेका १ सय ८४ मतदानस्थलमा ३ सय ३९ मतदान केन्द्र रहेका छन् ।
सुरक्षा समितिले जिल्लाको ३१ मतदानस्थल मात्र सामान्यको सूचीमा राखेको छ । ती ३१ मतदानस्थलमा ५५ मतदान केन्द्र रहेको छ । मतदानस्थल र मतदान केन्द्रको संवेदनशीलतालाई ध्यानमा राखेर आसन्न स्थानीय तहको निर्वाचनमा सुरक्षा प्रबन्ध मिलाइने सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । ‘सुरक्षाको दृष्टिले जिल्लाका अधिकांश मतदान केन्द्रहरु संवेदनशील देखिएको छ, विगतमा भएको क्रियाकलापको आधारमा सुरक्षा समितिले निकालेको हो,’ उनले भने, ‘अति संवेदनशील र संवेदनशील मतदान केन्द्रहरुमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइने छ ।’
यसअघिको निर्वाचनमा जिल्लामा ३ सय १८ मतदानस्थलमा ५ सय १८ मतदान केन्द्र राखिएको थियो । यसपटकको निर्वाचनमा भने ३ सय १८ वटै मतदानस्थलमा ५ सय ९९ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा मतदाताको संख्या बढेकाले ८१ मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले बताए ।