काठमाडौं महानगरका लागि मेयरमा ५६ र उपमेयरमा ३१ जनाको उम्मेदवारी

 स्थानीय निर्वाचन २०७९     २०७९, १३ बैशाख मंगलवार १३:१२     90 जनाले पढ़िसके



Spread the love

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका लागि ५६ र उपमेयर पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ। प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिएको हो भने बाँकी ३५ ले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराएका छन्। प्रमुख पदका लागि उम्मेदवारी दिनेमध्ये आठ महिला छन्।

उपप्रमुखमा उम्मेदारी दिने ३१ मध्ये १२ जनाले दलका तर्फबाट र १९ ले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन्। उम्मेदवारमध्ये १२ महिला छन्।

आसन्‍न निर्वाचनका लागि १२ गते साँझसम्ममा दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। मनोनयनको पहिलो दिन ११ गते प्रमुखका लागि १६ ले र उपप्रमुखका लागि १७ जनाले उम्मेदवारी दिएका थिए।

काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार काठमाडौं जिल्लाका सबै पालिकामा जम्मा एक हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन्।

जसमा प्रमुखका लागि १२५ र उपप्रमुख पदका लागि ५७ जनाले, वडाध्यक्षका लागि ३३४, महिला सदस्यका लागि १९१, दलित महिला सदस्यका लागि १२९ जनाले र सदस्यका लागि ४२६ जनाले मनोनयनपत्र दर्ता गराएका छन्।