कांग्रेसको संकल्प : नातेदार र परिवारका सदस्यलाई सल्लाहकार र सहयोगी नियुक्त नगर्ने

 काँग्रेस स्थानीय निर्वाचन २०७९     २०७९, ११ बैशाख आईतवार १४:५६     99 जनाले पढ़िसके



Spread the love

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले नातेदार र परिवारका सदस्यलाई नियुक्त नगर्ने संकल्प गरेको छ।

स्थानीय तह निर्वाचनका लागि आइतबार सार्वजनिक संकल्पपत्रमा कांग्रेसले नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने उल्लेख गरेको छ।

कांग्रेसले मेयर र उपमेयरको कार्यशैली राजाजस्तोभन्दा पनि भुइँको जिम्मेवारी निभाउनुपर्ने बताए। ‘सबैभन्दा भुइँको र जिम्मेवारीमा बस्नुपर्ने मान्छे हो। मेयर साप, उपमेयर साप होइन,’ घोषणापत्र तयारी समितिका संयोजक गगन थापाले भने।

कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बोलाएर प्रशिक्षण दिने संकल्प गरेको छ। ‘ठोस योजना बनाउन लगाउन र प्रभावकारी कार्य गर्न लगाउनेछौं,’ थापाले भने।

त्यस्तै कानूनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने संकल्प गरिएको छ। निर्दिष्ट योजना र विनियोजित स्रोत सीमाबाहिर गई अपारदर्शी वा अनुत्तरदायी रुपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम नगर्ने घोषणापत्रमा उल्लेख छ।

कानून, आर्थिक तथा वित्तीय उत्तर दायित्व र अनुशासनको उल्लंघन नगर्ने भनिएको छ। महिलामाथि हुने हिंसा, जातीय भेदभाव, लैंगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामा प्रत्यक्ष तथा परोक्ष रुपमासमेत कुनै पनि अवस्थामा संलग्न नहुने भनिएको छ।