मञ्जु गुरुङले गरिन् महानगर उपमेयरको टिकट अस्वीकार

 संवाददाता    २०७९, ११ बैशाख आईतवार ११:३७     90 जनाले पढ़िसके



Spread the love

नेकपा (एमाले)की नेत्री मञ्जुदेवी गुरुङले पोखरा महानगरपालिकाको उपमेयरको टिकट अस्वीकार गरेकी छन्।

पार्टीले आफूलाई उम्मेदवार बनाउने विषयमा खबर नै नगरी टिकट दिएकोमा उनले आचार्य व्यक्त गरेकी छन्। “मैले पहिले नै मैदान खाली गरेको हो। तर, उम्मेवारी किन बनायो थाहा छैन,” गुरुङले हिमालखबरसँग भनिन्, “मलाई उपमेयरमा उम्मेदवार बनाउने निर्णय स्वीकार छैन, उम्मेदवारी दर्ता गर्दिनँ।”

उनी गत निर्वाचनमा महानगरको उपमेयरमा निर्वाचित भएकी थिइन्। फेरि उपमेयर पद आफूलाई स्वीकार्य नभएको उनको भनाइ छ।

“मैले कुनै पदमा पनि दाबी गरिनँ,” उनले भनिन्, “टिकट दिने विषयमा मलाई पार्टीले सोधेन, सल्लाह नै भएन।”

उनले दुई साताअघि नै आफू कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेकी थिइन्। गुरुङले भनेकी थिइन्, “मैले पाँच वर्ष उपमेयरको जिम्मेवारी सम्हाल्ने अवसर पाए। अब मैले पद ओगट्नु हुँदैन, अरूलाई पनि पालो दिनुपर्छ।”

त्यसपछि एमाले पोखरा उमहानगर कमिटीले उनको नाम सिफारिश गरेको थिएन।

एमाले केन्द्रीय सचिवालय बैठकले शनिबार पोखराको मेयरमा दीपक पौडेललाई र उपमेयरमा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। यस विषयमा अझै आधिकारिक जानकारी नआएको उनले बताइन्।

एमाले पोखरा महानगर कमिटीले मेयरमा १२ र उपमेयमार ११ जनाको नाम केन्द्रमा सिफारिश गरेको थियो। मेयरका लागि केन्द्रीय सदस्यहरू भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा-१३ का वडाध्यक्ष दर्शन लामा, पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी थिए।

त्यस्तै, उपमेयरमा पोखरा-१९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, जीवनप्रसाद आचार्य, बिनुकुमारी गुरुङ, बलराम गायक र सुष्मा पौडेलको नाम सिफारिश गरिएको थियो।