मेलम्चीको पानी आइतबारदेखि घरघरमा पुग्ने

 संवाददाता    २०७९, ६ बैशाख मंगलवार ०९:२०     112 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ ।

सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनियर विवेक खनालले जानकारी दिए । पानी आएपछि राति वासिङ गर्ने च्यानलमा पानी देखिएको थियो । च्यानलमा पानी देखिएपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको हो ।

गत वर्ष असार १ गतेदेखि नै पानी बन्द गरिएको सुरुङको फोहर पखालेर पानी अहिले बागमतीमा छोडिएको छ । मेलम्चीको पानी छोडेपछि बागमतीको बहाव केही बढेको देखिन्छ । अहिले बागमती धमिलो पानी बढेको स्थानीयवासी रामप्रसाद पुडासैनीले बताए । गत वर्ष सुरुङमा पानी बन्द गरेकै राति मेलम्ची खोलाको मुहान क्षेत्रमा लेदोसहितको बाढी आएर मुहान क्षेत्रमा निर्माण गरिएको खानेपानीको संरचनामा क्षति पुगेको थियो । क्षति भएको संरचना पुनर्निर्माण गरी गत चैतमा सुरुङमा पानी हालिएको हो ।

मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हाल्न सुरुङभित्र पानीले उचाइ लिनुपर्ने उनले बताए । मेलम्चीको पानी सुन्दरीजल आएसँगै आज बिहान खानेपानी मन्त्री उमाकान्त चौधरीले अवलोकन गर्ने कार्यक्रम रहेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक वासुदेव पौड्यालले सुरुङ मार्ग हुँदै प्रशोधन केन्द्रमा जम्मा भएको पानी परीक्षणपछि आइतबारदेखि उपत्यकामा वितरण गरिने जानकारी दिए । ‘सुन्दरीजलदेखि मेलम्चीको अम्बाथानसम्मको सुरुङको तह पानीले भरिएको छ । आइतबारसम्म प्रशोधन केन्द्रमा पानी भरिएसँगै वितरण हुन्छ,’ उनले भने । फोटो : फाइल