ठूला दलले देशलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाए : लिङ्देन

 संवाददाता    २०७९, १ बैशाख बिहीबार १८:०१     118 जनाले पढ़िसके



Spread the love

जनकपुरधाम– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था अन्त्यपछि अहिले केही ठूला दलहरुको स्वार्थका कारण देश बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा परिणत भएकोे बताएका छन् ।

महोत्तरीको बर्दिबासमा पार्टी प्रवेश तथा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने ‘३२ वर्षअघि राजतन्त्रको बेलामा मुस्किलले १० हजार नेपाली वैदेशिक रोजगारमा थिए तर अहिले ५० लाख भन्दा बढी नेपाली युवायुवती खाडीमूलकमा गएर आफ्नो श्रम बेच्न बाध्य छन् ।’
बर्सेनी लाखौं नेपाली भारतको दिल्ली, पञ्जाव र हरियाना लगायतका ठाउँमा कमाउन जान बाध्य भएको बताउँदै उनले आफूलाई ठूला पार्टी भन्नेहरुले देशमा रोजगारीको वातावरण सिर्जना गर्न नसकेको कारण रहेको बताए।

अहिले देशमा कांग्रेस, एमाले र माओवादी केन्द्र पार्टीका नेताहरु तथा केही कार्यकर्ता बाहेक कुनै पनि नेपाली व्यक्ति वर्ग समुदाय खुशी नभएको उनको भनाइ छ । ‘किसानले समयमा मल बिउ पाइरहेका छैनन्, पारीबाट लुकिछिपी मलबिउ ल्याएर खेती गरेपनि बजार पाइरहेको छैन, बजार पाएपनि उचित मूल्य नपाउँदा खेतमा उत्पादन थन्किएको अवस्था छ ।’ उनले भने ।

अध्यक्ष लिङ्देनले श्रीलंकाको वर्तमान अवस्थाको उदाहरण दिदैं ऋणबाट चल्ने हाम्रो देशको पनि हविगत त्यस्तै हुने बताए । ‘३२ वर्षअघिसम्म २९ अर्ब ऋण थियो, तर त्यो अहिले बढेर १७ खर्बमा पुगिसकेको छ’ उनले भने, ‘संघीयता आएपछि झण्डै दुई गुणा बढी ऋण बढेर गएकाले ५ वर्षअघि ८ खर्ब ऋण अहिले १७ खर्बमा पुगिसकेको छ ।’

ती ऋणको रकम ६० प्रतिशतभन्दा बढी आफूलाई पुराना र ठूला पार्टी भनाउने शासक वर्गहरुको भोगविलासमा खर्च भएको आरोप उनले लगाए । फोटो : फाइल