तालमेलको मोडालिटी टुंगो लगाउन गठबन्धनको बैठक आज बस्दै

 स्थानीय निर्वाचन २०७९     २०७८, २९ चैत्र मंगलवार ०७:५१     113 जनाले पढ़िसके



Spread the love
आसन्न निर्वाचनमा तालमेलको मोडालिटीबारे टुंगो लगाउन सत्ता गठबन्धन बैठक आज बस्दैछ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कांग्रेस नेता तथा नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिए । यसअघि हिँजै गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुले चुनावमा यसअघिका सबै मतभेद भुलेर चुनावमा एकअर्कालाई साथ दिने प्रतिवद्धतासहित संयुक्त वक्तव्य जारी गरेका थिए ।
आज तालमेलको खाकाबारे निर्णय गर्न बैठक बस्न लागेको हो । गठबन्धनले तालमेलको खाका बनाउन चुनावी संयन्त्र समेत बनाएको छ। तल्लो तहको सिफारिसको आधारमा जिल्ला, प्रदेश र केन्द्रको समितिले उम्मेदवार टुंग्याउने बताइएको छ।

हिजोको बैठकले स्थानीय तहको आगामी निर्वाचनमा तालमेल गर्ने घोषणा गर्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षरित अपीलमा आगामी निर्वाचनमा आपसी सहकार्य र परस्पर सहयोगका लागि पाँचदलका नेता कार्यकर्तालाई आह्वान गरिएको छ।

सार्वजनिक अपीलमा लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुष्प्रयास भएको भन्दै परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको दाबी गरिएको छ।