गभर्नर हटाउने निर्णयप्रति ओलीको टिप्पणी : रौं भएको मुसाले धान खायो तर भ्यागुताले चोट पायो

 एमाले     २०७८, २६ चैत्र शनिबार १२:१४     117 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णयको चर्को आलोचना गरेका छन् । शनिवार काठमाडौंको तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भने, ‘देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्र सेवक, अर्थशास्त्री, राष्ट्र बैंकबाटै डेपुटी गभर्नर समेत भएर गभर्नर भएका र अर्थतन्त्र बुझेका मान्छेलाई निलम्बन गरियो र माओवादी निकट मानिने १ जना व्यक्तिको नेतृत्वमा छानबिन समिति बनाइएको छ ।’

ओलीले अर्थतन्त्र जोगाउन लागिपरेको व्यक्तिलाई कारबाही गरेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

‘हिजो मात्रै हामीले देख्यौं । थुतुनाभरी रौं भएको मुसाले धान खायो, एउटै रौं नभएको मुसालाई कारबाही भयो । धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि ! त्यसमा पनि अनुहारमा रौं भएको मुसाले कपाकप धान खायो । उसैले रौं नभएकालाई कारबाही भयो,’ ओलीले भने ।

ओलीले देशको नेतृत्व निर्लज्ज व्यक्तिहरूको हातमा पुगेको पनि टिप्पणी गरे । गर्भनरमाथि छानबिन गर्न माओवादी भनेर जानिएको व्यक्तिको नेतृत्वमा समिति बनाइएको आरोप पनि ओलीले लगाएका छन् ।

‘माओवादीले नियुक्त गरेको, माओवादी निकट भनिएको एउटा न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनायो । माओवादी भनेर जानिएको मान्छे,’ ओलीले भने, ‘अहिले अदालतको अवस्था कस्तो छ ? देखिरहनुभएकै छ नि ! मैले यसमा थप भनिरहन आवश्यक छैन ।’ फोटो : फाइल