मेलम्ची खानेपानी आयोजनाका परिकल्पनाकार किशुनजीको शालिक मेलम्ची आसपास निर्माण गर्न सरकारको अनुमति

 काँग्रेस     २०७८, २५ चैत्र शुक्रबार १४:२९     81 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सरकारले मेलम्चि खानेपानी आयोजनाका परिकल्पनाकार पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको शालिक निर्माण गर्न अनुमति दिएको छ । सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको प्रवेशद्वार नजिक उपयुक्त स्थानमा शालिक निर्माणका लागि अनुमति प्रदान गर्ने सरकारले निर्णय गरे पनि कसलाई अनुमति दिएको हो त्यो भने स्पष्ट पारिएको छैन ।

बिहीबारको मन्त्रिपरिषदबारे जानकारी दिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, “सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको प्रवेसद्वार नजिक उपयुक्त स्थानमा सन्त नेता एवम पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (जसलाई हामी किशुनजी भन्छौं)को शालिक र शिलापत्र राख्न अनुमाति प्रदान गर्नेछ ।”

सरकारको निर्णयमा कसले बनाउने र सरकारले कसलाई अनुमति दिएको हो भन्नेबारे स्पष्ट पारिएको छैन । किशुनजीको शालिक बनाउन अनुमति प्रदान गर्ने निर्णय सुनाउँदा संचार तथा सूचना प्रविधिमन्त्री कार्कीले मेलम्ची खानेपानी आयोजनाका परिकल्पनाकार भनेरसमेत उल्लेख गरेका छैनन् ।

सरकारको निर्णयका विषयमा जिज्ञासा राख्दा मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीहरु पनि प्रस्ट छैनन् । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले शालिक बनाउने भन्ने विषयमा कुराकानी भए पनि ठोस तयारी नभएको बताए । उनले शालिक कसले बनाउने भन्ने विषयमा स्पष्ट नभए पनि आयोजनालाई नै जिम्मेवारी आउनसक्ने संकेत गरे ।