काठमाडौं : नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका धादिङ बेनीघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) फेरि खुमलटार पुगेका छन्। एक दिनअघि माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका गाउँपालिकाका अध्यक्ष डल्लाकोटी उर्फ हरि पुन : माओवादीमै फर्किएको घोषणा गर्दै बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न गएका हुन्। उनले क्षणिक आक्रोश र आवेगमा आएर एमाले प्रवेश गरेको स्पष्टीकरण दिएका थिए।डल्लाकोटीले प्रचण्डसँग परिबन्दमा परि बालकोट पुगेको र यसमा आफ्नो गल्ती महसुस गरेको बताएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। ‘अध्यक्ष ज्यु, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगे। यसमा मेरो गल्ती भो।’डल्लाकोटीलाई उद्दृत गर्दै मल्लले भने, ‘तर मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन, सुत्न नि दिएनन्। मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु । र, म २ दिनमै घर फर्केको छु।’भेटमा प्रचण्डले गल्ती गरे महसुस गरिसेकाले काममा फर्कन निर्देशन दिएको मल्लले बताए। डल्लाकोटीले आगामी दिनमा पार्टीमा रही पार्टीको निर्णयअनुसार निरन्तर क्रियाशिल रहने प्रतिबद्धता जनाएका छन्। गत स्थानीय तह निर्वाचनमा उनी माओवादी केन्द्रबाट बेनिघाट रोराङ्ग गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। फोटो : प्रचण्ड सचिवालय