चुनावी तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न आज गठबन्धनको वैठक बस्दै

 स्थानीय निर्वाचन २०७९     २०७८, २१ चैत्र सोमबार ०९:२८     110 जनाले पढ़िसके



Spread the love

काठमाडौं। नेपाली कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धनले स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपछि आइतबार साँझ स्वेदश आएकाले तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न मंगलबार बैठक बस्ने भएको छ।

गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बैठकको मिति तय भए पनि समय तय हुन बाँकी रहेको बताइन्। १७ चैतमा आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने गठबन्धनले निर्णय गरेयता प्रदेशदेखि पालिकास्तरमै तालमेल र त्यसको मोडालिटीबारे छलफल सुरू भएको छ।

तर, तालमेलबारे गठबन्धनको नेतृत्व दल कांग्रेसभित्र असन्तुष्टि देखिएको छ। डा. शेखर कोइराला पक्षले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै तालमेल हुँदा माओवादीलाई मत माग्न नसकिने जनाएको छ।

कांग्रेसको संस्थापनइतर पक्षको नेतृत्व गरेका कोइराला पक्षदेखि निरन्तर गठबन्धनविरोधी अभिव्यक्ति आएपछि माओवादी पनि त्यति सन्तुष्ट छैन। नेता वर्षमान पुनले माओवादी–एमालेबीच तालमेलबारे छलफल भइरहेको बताइसकेका छन् । तैपनि गठबन्धनलाई थप मजबुत बनाएर लाने गठबन्धनका शीर्ष नेताहरूले बताउँदै आएका छन्।