नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेखित नेपालको नक्सा भारतस्थित नेपाली दूतावासमा नभएको भन्दै आपत्ति जनाएका छन् ।
आइतवार नेपाल बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनमा बोल्दै उनले देशको नक्सा नै गायब बनाउने योभन्दा अरु राष्ट्रिय लज्जाको विषय अरु केही नहुने बताए । यसअघि प्रधानमन्त्री देउवाले सरकारको सय दिनको कार्यक्रम प्रकाशित गरेको पुस्तिकामा पनि संविधानले व्यवस्था गरेको चुच्चे नक्सा हटाएको प्रसंग उल्लेख गर्दै ओलीले सरकारले मुलुकको भौगोलिक अखण्डतामाथि सौदाबाजी गर्दा पनि चुप लागेर बसेको भन्दै बुद्धिजीवीप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले भारत भ्रमणबाट फर्कंदा नेपाली दूतावासमा बुच्चे नक्सा नै झुण्ड्याएर आउने कि हटाएर आउने भनि प्रधानमन्त्री देउवालाई प्रश्न समेत गरे । विगतमा कुनै पनि सरकारले आँट नगरेको विषय नेपालको भूमि समेटेर बनाइएको चुच्चे नक्सा ५ दलीय देशद्रोही गठबन्धन सरकारले हटाएको आरोप समेत उनले लगाए । फाइल : फोटो