पेट्रोलियम पदार्थको ढुवानी भाडा र डिलर कमिसन बढाउन माग राख्दै पेट्रोलियम व्यवसायीले ढुवानी ठप्प पारेका छन्। व्यवसायीले शुक्रबार बिहानैदेखि ग्यास, डिजेल, पेट्रोल, हवाई इन्धनलगायत सबै प्रकारका पेट्रोलियम उठाउन छाडेका छन्।
व्यवसायीहरूले डिलर कमिसन र भाडादर बढाउन सरकारलाई दबाब दिएको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए। उपाध्यायका अनुसार आज बिहानदेखि व्यवसायीले ढुवानी रोकेका छन्। पछिल्लो समय पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी भाडा नबढेकाले नयाँ भाडा समायोजन गर्नुपर्ने व्यवसायीको माग छ।
निगमले यसबारे वार्ताका लागि व्यवसायीलाई छलफलमा बोलाएको छ। तर, व्यवसायीले वार्तामा बस्न नमानेकाे प्रवक्ता उपाध्यायले बताए। उनले भाडा समायोजन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले माग पूरा नभएसम्म ढुवानी रोकिने बताएको छ। महासंघले सबै व्यवसायीलाई ढुवानी रोक्नसमेत आग्रह गरेको छ। निगमले व्यवसायीका माग नसुनेको महासंघको आरोप छ। निगमका प्रवक्ता उपाध्यायले जायज माग सम्बोधन गरिने बताए। केही समय ढुवानी रोकिँदा आपूर्तिमा समस्या नहुने बताएका छन्।