सरकारले तीन डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ। आज बिहान बसेकाे मन्त्रिपरिपद् बैठकले बढुवा समितिको सिफारिसअनुसार वसन्तकुमार पन्त, धरिजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेकाे हाे।
एआईजी बढुवा सिफारिसविरुद्ध परेको उजुरी छानबिन गर्न गठित समितिले बढुवाको सिफारिस प्रक्रियासम्मत रहेको ठहर गर्दै बुधबार पत्र पठाएपछि बढुवाको बाटो खुलेको थियो।
गृहसचिव नेतृत्वको बढुवा समितिले तेस्रो वरीयताका डीआईजी वसन्तकुमार पन्त, छैटौं वरीयताका धीरजप्रताप सिंह र आठौं वरीयताका रवीन्द्रबहादुर धानुकलाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।
वरीयतामा आफूभन्दा पछाडि रहेका डीआईजीहरूलाई एआईजी बढुवाका लागि सिफारिस गरेको भन्दै डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले उजुरी सुनुवाइ समितिमा उजुरी दिएका थिए।
लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको उजुरी सुनुवाइ समितिले सो उजुरीउपर छानबिन गरी कैफियत नदेखिएको जवाफ दिएपछि बढुवाको बाटो खुलेको हो। समितिले उजुरी परेपछि बढुवासँग सम्बन्धित कागजात मागेको थियो।
फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन जना एआईजी थपको निर्णय गरेको थियो। याेसँगै चैत १ गते बढुवा सिफरिस समितिले एआईजीमा बढुवाका लागि सिफरिस गरेको थियो।