भरतपुरको मेयरमा हाम्रो दाबी : प्रचण्ड

 #माओवादी     २०७८, १६ चैत्र बुधबार १६:४४     132 जनाले पढ़िसके



Spread the love

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दाबी रहने बताएका छन्।

चितवनमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरमा सत्ता साझेदार दलबीच तालमेल हुने बताए। मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पनि महानगर र उपमहानगरमा केन्द्रबाटै तालमेल गर्ने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेको भोलिपल्ट गृहजिल्ला चितवन पुगेका दाहालले भरतपुरमा माओवादीको दाबी रहने बताएका हुन्। “निर्वाचनमा तालमेल के हुन्छ भन्ने थियो, नेपाली कांग्रेसले हिजो एउटा निर्णय गरिसकेपछि गठबन्धनबीच आवश्यक तालमेल हुन्छ भन्ने कुरा क्लियर भएकै छ,” दाहालले भने, “भरतपुरमा हाम्रो दाबी छँदै छ।

यसअघिको स्थानीय तहको चुनावमा पनि भरतपुर महानगरमा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो। महानगरको मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह निर्वाचित भएका थिए।

अध्यक्ष दाहालले महानगर र उपमहानगरमा केन्द्रबाट तालमेल गर्न गठबन्धनमा छलफल हुने बताए। यसका लागि बिहीबार सत्तारूढ गठबन्धनको बैठक बस्न लागेको उनको भनाइ थियो।

अध्यक्ष दाहालले भने, “महानगर र उपमहानगरपालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ। बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौं।”

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि गठबन्धबीच तालमेलको बाटो खुलेको उनको भनाइ थियो। उनले भने, “कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकता अनुसार तालमेल हुने कुरामा प्रष्ट भएको छ।”

अब स्थानीय चुनाव हुने निश्चित भएको उनको भनाइ थियो। जसले गर्दा सबै राजनीतिक दलहरू आआफ्नो तवरले निर्वाचनको तयारीमा लागेको उनले बताए।

उनले बुधबार पूर्वी चितवनमा विद्युत् सबस्टेशनको उद्घाटन पनि गरेका छन्। उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री पम्फा भुसाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी थिए। फोटो : फाइल