नेपाल भ्रमणमा रहेका चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालको मामिलामा नेपालीले नै निर्णय लिन पाउने बताएको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले लेखेको छ । नेपालको सार्वभौमसत्ता र स्वतन्त्रतालाई अवमूल्यन गर्ने सबैखाले प्रयासलाई चीनले विरोध गर्ने उनको भनाइ छ ।
शनिवार परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटघाटमा वाङले यो कुरा बताएको ग्लोबल टाइम्सको समाचारमा उल्लेख गरिएको छ ।
दुई देशको अन्तर्राष्ट्रिय वा राष्ट्रिय परिस्थिति जति परिवर्तन भए पनि चीनले दुई देशको साझा भविष्यलाई प्रवर्धन गरिरहने वाङले बताए ।
नेपालको माटो सुहाउँदो विकासमा चीनले सहयोग गर्ने पनि वाङको भनाइ छ । उनले जनताको आधारभूत तथा दीर्घकालीन हितका लागि समावेशी परामर्श गर्न सबै दलका तथा दलका गुटलाई प्रोत्साहित गरेका छन् ।
नेपालका सबै दलले राजनीतिक स्थिरता, आर्थिक वृद्धि तथा जनजीवन सुधारलाई प्रवर्धन गर्ने सुशासनको नमूनालाई संयुक्त रूपमा पालन गर्नुपर्ने वाङले बताए ।
नेपाललाई स्वतन्त्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति अपनाउन चीनले सहयोग गर्ने चिनियाँ परराष्ट्रमन्त्रीको भनाइ छ । आकार जत्रो भए पनि सबै देशहरू बराबर भएको विश्वास चीनले लिएको वाङले बताए । चीनले सबै देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्ने पनि उनको कथन छ ।
चीन र दक्षिण एसियाबीचको सहकार्यका लागि नेपाल ऊर्वर भूमि बन्नुपर्ने वाङको भनाइ छ । अन्य मुलुकहरूसँग नेपालले सहअस्तित्वमा रही सम्बन्ध बनाएको तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा थप ठूलो भूमिका खेलेको देख्दा चीन खुशी भएको पनि वाङले बताए । फोटो : फाईल