काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले माओवादीसँगको एकीकरणपछि सकिएको दाबी गरेका छन।
शनिवार काठमाण्डौमा आयोजित नेकपा समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको केन्द्रिय कमिटी प्रथम विस्तारित बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताएका हुन। उनले नेकपा एमाले भनेको इतिहास भएको भन्दै अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको आरोप लगाए ।
पूर्व प्रधानमन्त्री खनालले नयाँ गुटले अहिले पनि देशभर नेकपा एमाले हौँ भनेर भ्रम छर्ने काम गरेको पनि बताए । उनले नेकपा एमालेमा रहेका नेता तथा कार्यकर्तालाई जनताको साथ दिइरहेको पार्टी नेकपा एकीकृत समाजवादीमा आउन पनि आग्रह गरे । उनले नेकपा एमालेले आगामी चुनावमा दुई तिहाई सिट नभएर दुई तीन सिट मात्र ल्याउने दाबी गरे ।
यस्तै उनले, आफ्नो पार्टी नेपालको इतिहासमै छोटो समयमै राष्ट्रव्यापी बनेको पनि दाबी गरे। उनले नेपालको इतिहासमै ६ महिनाभित्रको समयमा अहिलेसम्म कुनै पार्टीले आफूलाई राष्ट्रव्यापी बनाउन नसकेको पनि बताए । खनालले वर्गीय रुपले दलाल पूँजीवाद सबैभन्दा ठूलो समस्या भएको र त्यसबिरुद्धमा आफ्नो पार्टी लडिरहेको बताए । फोटो : फाइल