काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) औपचारिक रूपमा टुक्रिएको छ । बुधबार र बिहीबार काठमाडौँमा भेला भएका गैर आवासीय नेपालीहरूले एउटा समूह गठन गर्दा हालका अध्यक्ष सहितको जम्बो टोली अर्को पक्षमा छ ।
गएको नोभेम्बर महिनामै हुनुपर्ने अधिवेशन विवादका कारण समयमा हुन सकेन । अहिले अधिवेशन त भयो, तर एनआरएनएको आधिकारिकतामै प्रश्न उठेको छ । एनआरएनएका प्रमुख संरक्षक शेष घलेले गराएको निर्वाचनलाई संघका अधिकांश सदस्य तथा अभियन्ताहरूले बहिष्कार गरेका हुन् ।
बुधबार राती घलेको टीमबाट दक्षिण कोरियामा बस्दै आएका विनोद कुँवरको नेतृत्वमा नयाँ एनआरएनए जन्मिएको छ । अघिल्लो महाधिवेशनमा एसिया प्रशान्त क्षेत्रको उपक्षेत्रीय संयोजकमा पराजित भएका उनी अहिले घले गुटबाट अध्यक्ष बनेका हुन् । यस्तै, ४ जना उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष सहित क्षेत्रीय संयोजकहरू पनि छानिएका छन् । उपाध्यक्षहरूमा उमेश पुडासैनी, बाबुराम लामा, सुरेन्द्र सिग्देल र भोमा लिम्बु छन् ।
महासचिवमा बेल्जियमकी जानकी गुरुङ, सचिवमा कोरियाकी जुनु गुरुङ र कोषाध्यक्षमा अस्ट्रेलियाकी डिला खरेल चयन भए । ओसियाना क्षेत्रको संयोजकमा केशव कँडेल, अमेरिका क्षेत्रको संयोजकमा कृष्ण पोखरेल र युरोपको संयोजकमा उल्का घिमिरे चयन भए ।
एनआरएनएका हालका अध्यक्ष कुमार पन्तले निर्वाचनमा सहमति जुटाउन संरक्षक समेत रहेका घलेलाई जिम्मेवारी दिँदा उनले समाधान खोज्नुको सट्टा उल्टै संगठन टुक्र्याए । अर्कोतिर एनआरएनएमा तीनजना अध्यक्षका उम्मेदवार देखिएपछि १८ महिने कार्यकाल तीनैजनाले बराबर अवधि नेतृत्व गर्ने गरी विवाद टुङ्गिएको छ । कुल आचार्य, रवीना थापा र बद्री केसीबीच प्रतिस्पर्धा भएपछि र एनआरएनए चरम विवादमा मुछिने भएपछि एकताको महाधिवेशनका लागि तीनै जना बराबर अवधि अध्यक्ष बन्न तयार भए । अर्को पक्षको अधिवेशन अझै सुरु भएको छैन ।
घलेले टोलीको घोषणा गर्दै नेपाल सरकारले एनआरएनलाई लक्षित गरेर लगानी भित्र्याउन प्रयास गर्नुपर्ने बताए । ‘पछिल्ला पुस्ताहरूलाई पनि लक्षित गरेर सम्भावना देख्यो भने राम्रो हुन्छ । हाम्रो लगानीमा आम्दानी मात्रै नभई भावना जोडिएको हुन्छ । समाजमा बहुपक्षीय प्रभाव हुन्छ,’ उनले भने, ‘हाम्रो क्षमता अनुसारको लगानी नेपाल ल्याउनमा खासै जोड दिन सकेका छैन । यो लगानी लामो समयका लागि हुन्छ । यो नेपाल सरकारले प्रणाली सुधार्नुपर्छ र बुझ्नुपर्छ ।’ विवाद मिलाउनुपर्नेमा संरक्षकले नै संगठन फुटाएको भन्दै अर्को पक्ष रुष्ट छ ।