ओलीलाई माधव नेपालको व्यंग्य : राजनीतिबाट सन्यास लिनूस्, अयोध्या गएर रामनाम जप्नूस्

 #नेकपा एकीकृत समाजवादी     २०७८, १० चैत्र बिहीबार १८:३७     78 जनाले पढ़िसके



Spread the love

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब केपी ओलीको नामसमेत लिन मन नलागेको बताएका छन्। जनकपुरमा बिहीबार एकीकृत समाजवादी मधेश प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेपालले अब ओलीले राजनीतिबाट सन्यास लिएर रामनाम जपेर अयोध्यामा गएर बास बसे हुने टिप्पणी समेत गरे।

‘एमाले बनाउने नेता पनि हामी हौं। उनलाई पनि नेता बनाउने हामी हौं। ओली त हामीले बनाएको पार्टी कब्जा गर्न पो आएका हुन् त’ नेता नेपालले भने, ‘केपी ओलीको कति नाम लिने, अब त उनको नाम लिन पनि मन लाग्दैन। अब केपी ओली रामनामी ओढेर अयोध्यामा गएर बास बसे हुन्छ। माला जपे हुन्छ।’

उनले नेपालमा इतिहासमा ६ महिनामै कुनै पनि नयाँ पार्टी देशव्यापी नबनेको तर्क गर्दै एकीकृत समाजवादी मात्र त्यस्तो पार्टी बन्न सकेकोमा गर्व गर्न नेता कार्यकर्तालाई आग्रह गरे।

देशभरमा एकीकृत समाजवादी पार्टीको लहर चलेकाले अगामी चुनावमा ठूलो स्थान हासिल गर्ने उनको दावी छ।

उनले अगामी चुनावका लागि माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र कांग्रेसको पनि एक खेमा सकारात्मक रहेकाले गठबन्धन बन्ने विश्वास व्यक्त गरे।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेको नेता नेपालको दावी छ।

चुनावको लागि स्थानीय स्तरसम्म होमिन र जनताको घरघरमा जान नेता कार्यकर्तालाई उनले निर्देशन समेत दिए। फोटो : फाइल