काठमाडौं । लोक सेवा आयोगले नेपाल प्रहरीका तीन जना डिआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको बारे बढुवा समितिको सचिवालयसँग लिखित जवाफ मागेको छ । सिफारिसमा नपरेका ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले गत सोमबार उजुरी दिएपछि लोक सेवा आयोगले बढुवा सिफारिस समितिको सचिवालयसँग त्यसको प्रतिक्रिया मागेको हो ।बढुवाबारे गुनासो सुन्ने समितिको बैठक सोमबार बस्यो र त्यस सम्बन्धमा के कसो भएको हो भनेर प्रतिक्रिया लिने निर्णय भएबमोजिम बढुवा सिफारिस समितिमा पत्र गएको छ,’ लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले भने ।गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । तर हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची डीआईजीहरुले वरिष्ठता र कार्यक्षमताका आधारमा बढुवा सिफारिस नगरेको भन्दै लोकसेवा आयोगमा चैत ६ गते उजुरी दिएका थिए ।बढुवा गर्ने निर्णय भएको सात दिनभित्र उजुरी दिनसकिने व्यवस्था प्रहरी नियमावलीमा छ । उजुरी प्राप्त भएपछि उजुरी सुन्ने म्याद सकिएको भोलिपल्टै बढुवा समितिमा पत्र पठाउनुपर्छ । उक्त पत्र प्राप्त भएको तीन दिनभित्र सम्बन्धित बढुवा समितिले उजुरी सुन्ने समितिमा आवश्यक कागजातसहित लेखी पठाउनुपर्छ । उजुरीमा उजुरी गर्ने म्याद समाप्त भएको मितिले पन्ध्र दिनभित्र टुंगो लगाइ सक्नुपर्छ ।