सर्लाही – सर्लाहीको कविलासीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
कविलासी नगरपालिका–६, जमुनियास्थित भित्री सडक खण्डमा शुक्रवार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएको थियो । दुर्घटनामा भारतीय नम्बर प्लेट बिआर ३० क्यू ५२९२ नम्बरको मोटरसाइकल चालक कविलासी नगरपालिका–२, निवासी २८ वर्षीय धर्मेन्द्र रामको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका रामलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्याएको थियो । अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यस्तै, सोही मोटरसाइकलमा सवार कविलासी नगरपालिका–२, निवासी २३ वर्षीय राजु रामको खुट्टामा गहिरो चोट लागेको छ । दुर्घटनामा संलग्न बिआर ०६ सिएफ ५३५७ नम्बरको मोटरसाइकल चालक चक्रघट्ट गाउँपालिका–५, बस्ने ३० वर्षका राजकुमार यादव र पछाडि बसेका सोही स्थानका ३० वर्षका हरिओम यादवको टाउको, अनुहार र हातखुट्टामा गहिरो चोट लागेको छ ।
उनीहरू दुवैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । दुवै जनालाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात थप उपचारको लागि बीरगंज रिफर गरिएको छ ।