काठमाडाैं, नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूहबाट डा. हरिबहादुर दर्लामीको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएकाे छ।
३३औं केन्द्रीय कार्यसमिति चुन्न शुक्रबार सम्पन्न निर्वाचनमा कांग्रेसनिकट लोकतान्त्रिक इन्जिनियर्स समूह (सिडेन) को प्यानल नै विजयी भएको हाे।
कार्यसमितिमा उपाध्यक्ष डा. नारायणप्रसाद अधिकारी, महासचिव रविभूषण झा, उपमहासचिवमा सरोज धिताल र कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः दिनेश त्रिपाठी र दीपक अधिकारी निर्वाचित भएका छन्। कार्यसमितिका लागि लोकतान्त्रिक समूहबाट उम्मेदवारी दिएका २३ जना नै विजयी भएकाे जनाइएकाे छ।
लोकतान्त्रिक प्यानलबाटै दिलीपकुमार झाको नेतृत्वमा अर्को समूह पनि प्रतिस्पर्धामा उत्रिएको थियो। सो समूहलाई भने संस्थाको हितविपरीत गएको भन्दै सिडेनले कारबाही गरेको थियो। डा. हरिराम पराजुलीले नेतृत्वमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) निकटको एकीकृत प्रगतिशील इन्जिनियर समूहले पनि चुनाव लडेको थियो।
डा. सुरज लामिछानेको नेतृत्वमा बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धन चुनावी प्रतिस्पर्धामा रहँदा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट इन्जिनियरहरूको प्यानलले बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धन बनाएको थियो।
नेपाल मजदुर किसान पार्टीनिकट इन्जिनियर्स सोसाइटी नेपालका तर्फबाट राजेन्द्रप्रसाद हाडा नेतृत्वको प्यानलले पनि चुनावी प्रतिस्पर्धा गरेको थियो।