प्रेस चौतारीको नेतृत्व ओलीकै इच्छामा, बस्नेत पुनः अध्यक्ष

 संवाददाता    २०७८, २९ फाल्गुन आईतवार ०९:१२     109 जनाले पढ़िसके



Spread the love

पोखरा । नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा पुनः गणेश बस्नेत चयन भएका छन् । नवौँ महाधिवेशननबाट उनको अध्यक्षतामा नयाँ कमिटी तयार गरिएको हो । उपाध्यक्षहरूमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र देवीका घर्ती मगर चयन भएका छन् ।

कमिटीको महासचिवमा हिरामान लामा छानिएका छन् भने उपमहासचिवमा राजु सुवेदी र सुरोजजंग पाण्डे चयन भए । सचिवहरूमा विक्रम लुइँटेल (प्रदेश नं १), कमल उपाध्याय (मधेस प्रदेश), विष्णु तारुके (बागमती), सुश्मा पौडेल (गण्डकी), प्रदीप आचार्य (लुम्बिनी), विष्णु शर्मा (कर्णाली) र लोग्श्वरी कुँवर (सुदूरपश्चिम) चयन भए ।

यस्तै, प्रतिष्ठानबाट सचिवमा हरिबल्लव नेपाल छानिएका छन् भने कोषाध्यक्षमा इन्द्र आचार्य चयन भए । उता पदाधिकारी चयन भएपछि केही पत्रकारका नेताहरूले भने मनोनयन नै दर्ता गर्न नपाएको भन्दै विरोध जनाएका छन् । माधव प्रसाद तिवारीले उम्मेदवारी दर्ता गर्न नपाएको भन्दै संगठनबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

‘नवौँ महाधिवेशनमा उम्मेदवारी दर्ता गर्न समेत नपाएपछि साधारण सदस्य समेत नरहनेगरी आजैदेखि निष्क्रिय रहने घोषणा गर्दछु,’ उनले भने, ‘महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यहरूको समेत सहमति नगरी अध्यक्ष मण्डलका अध्यक्ष एक्लैले टिम घोषणा गर्नु झन् दुखद छ ।’

अध्यक्षका प्रत्याशी समेत रहेका माधव नेपालले एकलौटी रूपमा घोषणा गरिएको नाम आफूले नस्विकार्ने बताए । मनोनयनको समयअघि नै पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारी रहने बताएका थिए । सामाजिक सञ्जाल मार्फत मत समेत मागेका थिए । उनले आकांक्षीहरुको भेलामा पृथ्वीसुब्बा गुरुङले बस्नेतको नाममा सहमति खोजेपछि आपत्ति जनाएको सहभागीहरूले बताएका छन् ।

पुरानो समितिले काम गर्न नपाएको भन्दै एमाले अध्यक्ष केपी ओलीले उद्घाटन समारोहमै पुरानै कमिटीलाई दोहोर्‍याउन प्रस्ताव गरेका थिए । चौतारीका इन्चार्ज तथा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ओलीकै लाइनबाट छलफल अघि बढाए र अधिकांशको विरोध हुँदाहुँदै बस्नेतलाई अध्यक्ष बनाउन सघाए । फोटो : फाइल