काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा होमिने बताएका छन् ।
राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणासभालाई सम्बोधन गर्ने क्रममा थापाले सम्पूर्ण नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको भन्दै हिन्दुराष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा उत्रने उद्घोष गरे । सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले संगठन विस्तार सँगसँगै चाँडै आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले स्पष्ट पारे ।
नेपाल अन्तराष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्दै गएकोमा यो राम्रो लक्षण नभएको भन्दै अध्यक्ष थापाले यसको सम्पूर्ण दोषी विदेशी प्रभुहरुका अगाडि लम्पसार पर्ने प्रमुख राजनीतिक दलका नेताहरु भएकोले यसको अन्त्यको लागि बलियो वैकल्पिक राजनीतिक शक्तिको रुपमा राप्रपा नेपाल उदाएको ठोकुवा गरे ।
फागुन ७ गते औपचारिक घोषणा भएको राप्रपा नेपालले तीन हप्तामा नै संगठन निर्माण र विस्तारमा कल्पनाभन्दा माथिको सफलता हासिल गरेको भन्दै थापाले राप्रपा नेपालले चाँडै राष्ट्रिय राजनीतिमा बलियो शक्तिको स्थान ओगट्ने दावी गरे ।
निस्वार्थ भावले राष्ट्रको लागि केही गर्छौं भन्ने आशा बोकेका युवाहरुको साथले राप्रपा नेपाललाई थप उर्जा र हौसला प्राप्त भएको बताउँदै अध्यक्ष थापाले सम्बर्धनवाद, लोकतन्त्र, हिन्दुराष्ट्र, सुशासन, समृद्धि र राष्ट्रवादको एजेण्डा बोकेर जनतामाझ आएको राप्रपा नेपालप्रति स्वतन्त्र रुपमा रहेका व्यक्तित्वहरु, विभिन्न संघ संगठनहरु अकर्षित हुँदै पार्टी प्रवेश गर्ने लहर सुरु भैसकेकोले पार्टीका एजेण्डा बोकेर घरघर, दैलोदैलो पुग्न युवाहरुलाई आह्वान गरे ।
कार्यक्रममा युवा नेता नगेन्द्र देउजाको अध्यक्षतामा ११३ सदस्यीय राष्ट्रिय युवा मोर्चा नेपाल घोषणा गरिएको थियो । नवगठित मोर्चाका पदाधिकारी तथा सदस्यहरुलाई पार्टी अध्यक्ष कमल थापाले माला र खादा लगाएस सम्मान गरेका थिए ।
मोर्चा घोषणा कार्यक्रमकै अवसरमा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य निरबहादुर श्रेष्ठ तथा लोसपा धादिङका जिल्ला अध्यक्ष नोरमान तामाङसहित लोसपाको सिंगो धादिङ जिल्ला कार्य समिति राप्रपा नेपालमा प्रवेश गरेको थियो भने स्वतन्त्र रुपमा रहेका २ दर्जन बढी युवाहरु राप्रपा नेपाल प्रवेश गरेका थिए ।
कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङ, महामन्त्री राजाराम वर्तौला, प्रवक्ता सुरेश आचार्य, लोसपाबाट प्रवेश गरेका केन्द्रीय सदस्य निर बहादुर श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य एवं सहकारी समन्वय विभाग प्रमुख राजकुमार खड्का, राप्रमसंका अध्यक्ष सुनिता कुरुम्वाङ, साँस्कृतिक मञ्चका अध्यक्ष राज सागर, ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का प्रथम उपाध्यक्ष आनन्द कुमार रिसाल, राप्रविसंका अध्यक्ष कमल वम रजवार, राप्रयुसंका प्रवक्ता लक्ष्मण कँडेल लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो भने स्वागत मन्तव्य मनोज तिमल्सिनाले राखेका थिए ।