निर्माण व्यवसायी महासंघको अध्यक्षमा हुमनाथ कोइराला उठ्ने

 संवाददाता    २०७८, २८ फाल्गुन शनिबार १४:५०     425 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २३ औं केन्द्रीय महाधिवेशन यहि फागुन २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

अध्यक्षका लागि विभिन्न व्यक्ति प्रतिस्पर्धामा छन् । ती मध्ये हुमनाथ कोइराला बलियो दावेदार हुन् । उनि यसअघिको महाधिवेशनमा महासचिवमा उठेका थिए । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष समेत रहेका कोइरालाको पक्षमा अधिकांश निर्माण व्यवसायी खुलेका छन् । उनले अध्यक्षमा चुनाव जित्ने आधारहरु समेत सार्वजनिक गरेका छन् ।

कोइरालालाई नेपाली कांग्रेसको बलियो साथ छ भने सत्ता गठबन्धन दलहरु निकटका व्यवसायीको पनि समर्थन रहेको छ । बहुमतको समुह आँफुसंग भएकोले जीत सुनिश्चित रहेको उनले बताए । कोइरालाले चुनाव जित्ने मुख्य आधार भनेको काम, क्षमता, सहयोगी भावना र समन्वयात्मक भुमिका रहेको उल्लेख गरे । व्यवसायी साथीहरुका माग, समस्या र नयाँ बिषयलाई सरकार समक्ष राखेर समाधान खोज्नु नेतृत्वको मुख्य कर्तव्य रहेको उनले बताए ।

‘म यहि आधारमा चुनाव जित्नेछु, उनले भने,‘निर्माण क्षेत्रका अधिकांश साथीहरुको मलाई साथ छ ।’ निर्माण व्यवसायी महासंघमा नेतृत्व दोहोर्याउने चलन नभएकोले यसपाली लोकतान्त्रिक निर्माण व्यवसायी संघको तर्फबाट अध्यक्षमा आफ्नो मात्र उम्मेदवारी हुने उनको प्रष्ट धारणा छ । उनले संघको अध्यक्ष भइरहँदा सफललतापुर्वक ७७ जिल्लामा संगठन बिस्तार गर्न सफल भएको लगायतका कुशल कामका आधारमा आफ्नो जित पक्का भएको दावी छ ।

त्यसो त, अध्यक्ष पदको रस्साकसीमा हालसम्म ३ जनाको उम्मेदवार चर्चामा छ । स्रोतका अनुसार, हालका अध्यक्ष रवि सिंहको विवादित छविका कारण उनलाई उम्मेदवार उठाउन नहुने कांग्रेस पार्टी भित्र एकमत रहेको छ । कोइराला र सिंह दुवैजना लोकतान्त्रिक खेमाका भएपनि सिंहको दावी कमजोर रहेको स्रोतले बतायो ।

लोकतान्त्रिक खेमाका एक व्यबसायीका अनुसार, अध्यक्षमा दोहोर्याउने चलन नभएकोले सिंहले दावी गर्न नमिल्ने, अघिल्लो पटक पार्टीका नेताहरु बसेर टिकट तय गर्दा यसपाली होमनाथ कोइरालालाई अध्यक्षमा उठाउने सहमति भएको, सिंहको नेतृत्वमा महासंघ आएपछि विवाद सृजना भएको लगायतका आधारमा सिंह यसपाली उठ्ने संभावना छैन । सिंह नउठ्ने भएपछि कोइरालाको पक्षमा स्वत माहौल सृजना भएको ती व्यवसायीले बताए ।

आँफुले चुनाव जितेपछि ठुलादेखि साना निर्माण व्यवसायीको हितमा काम गर्ने, दुर्गम व्यवसायीहरुको सहजताका लागि जिल्लाहरुका घर तथा जग्गाको ऋणधितो उपलब्ध गराउन महत्वपुर्ण भुमिका खेल्ने, बैंकर्स कमिसनका लागि व्यवसायी हितमा काम गर्न प्रभावकारी समन्वय गर्ने, वीमा कम्पनीसंग समन्वय गर्ने र व्यवसायीहरुको समयमै भुक्तानीका लागि सरकारका अड्डाहरुमा आवाज उठाउने, सरकारका महत्वपुर्ण निकायमा व्यवसायीहरुलाई सहज पहुँचको व्यबस्था गर्ने लगायत सुधारका काम गर्ने कोइरालाको दावी छ ।

उनि नेपालको पुराना तथा सफल निर्माण व्यवसायीमा परिचित छन् । विकोई बिल्डर्स प्रा.लिका प्रबन्ध निर्देशक समेत रहेका कोइराला निर्माण व्यवसायीमा एक अध्ययनशील र बिकासका काममा विज्ञ समेत रहेका छन् ।