काठमाडौं, शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता गर्नुपर्ने बताएकी छन्। नेपाल निर्माण व्यवसायी महासंघको २३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले व्यवसायीहरु होलिडेमा जान्छौं भन्नुभन्दा केही विषयमा कम्प्रमाइज गरेर काम गर्नुपर्ने बताएकी हुन्।
महासंघका अध्यक्ष जिपछिरिङ लामाले महंगी बढेको र महासंघको मागप्रति सरकार उदासिन बनेको कारण निर्माण व्यवसायीहरु होलिडेमा जानुपर्ने अवस्था आएको भन्ने अभिव्यक्तिको खण्डन गर्दै मन्त्री झाँक्रीले व्यवसायीहरुलाई सरकारको नियन्त्रणभन्दा बाहिरका माग नराख्न चेतावनी दिएकी हुन्।
‘निर्माण व्यवसायी होलिडेमा होइन कुनै न कुनै कुरामा कम्प्रमाइज गरेर हाम्रा नियन्त्रणभन्दा बाहिरका मागहरु राखेर होलिडे मनाउने कुरा गर्नु हुँदैन बरु समयमै काम सम्पन्न गर्ने कुराको कमिटमेन्ट गर्नुपर्छ,’ मन्त्री झाँक्रीले भनिन्।
उनले पछिल्लो समय विश्वबजारमा आएको अर्थतन्त्रको अवस्था नेपालले नियन्त्रण गर्ने अवस्थामा नरहेको बताइन्। रुस–युक्रेन युद्धले खाडी मुलुकका बढेको पेट्रोलियम पदार्थको मूल्य र भारतीय मुद्राको अवमूल्यन हुँदा त्यसको डलरको मूल्य अत्यधिक तिर्नुपरेका कारण नेपालको अर्थतन्त्रमा चाप बढेको उनले बताइन्। ‘महंगी बढाएप्रति हामी सबै सचेत भएर सरकारको नियन्त्रणमा पनि सबै कुरा छैन भन्ने यहाँहरुले बुझ्नुपर्छ । त्यसकारण होलिडे होइन प्रभावकारी काम गर्छौं भन्ने कुराको कमिटमेन्ट गर्नुपर्छ। नेपाल सरकारले तपाईहरुसँग यही अपेक्षा गर्छ,’ व्यवसायीहरुलाई मन्त्री झाँक्रीले भनिन्।
उनले देशकै नियन्त्रणमा नरहेको कुराको माग नराख्न आग्रह गरिन्।‘हाम्रो नियन्त्रणमा पनि नभएका कुराका माथि तपाईहरुले धेरै दाबी गर्नुभएन, सामूहिक हिसाबले काम गर्नका लागि, तपाईहरुको धरौटी मोबिलाइजेशनका कुराहरुका लागि सामूहिक प्रतिवद्धता गरेका छौं नि त, त्यो भन्दा धेरै कुराहरुको अपेक्षा नगर्नुस्,’ उनले भनिन्।
मन्त्री झाँक्रीले नियामावलीको ११ औं संसोधनले निर्माण व्यवसायीले उठाएका भन्दा बढी मागहरुको सम्बोधन भएको बताएकी छ्न। उनले सरकार निर्वाचन गराउने दायित्व बोकेर आएका कारण असिमित समय नभएकाले चालु भएका आयोजनाहरुलाई तोकिएकै अवधिमा सम्पन्न गरेर समय र लागतको सदुपयोग गर्नुपर्ने बताएकी छन्।