सरकारले ५० वर्षभन्दा माथि उमेर समूहका नागरिकहरुको मृर्गौला, कलेजो, मुट लगायत अन्य रोगसम्वन्धी परीक्षणहरु नियमितरुपमा वर्षको एकपटक नि:शुल्क गर्ने निर्णय गरेको छ। यसको लागि मन्त्रालयले प्रस्ताव अघि सारेको थियो।
यसैगरी मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली संशोधन पास गरेको छ। बिहीबार बसेको बैठकले सार्वजनिक खरिद नियमावली संशोधन पास गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए।
यसभन्दा अगाडि बसेको मन्त्रिपरिषद् बैठकमा सार्वजनिक खरिद नियमावली पास भएको थियो । उक्त पास भएको नियमावलीकाे थप संशाेधन पास भएकाे हाे। खेलकुद मन्त्री गहतराजका अनुसार बिहीबार पास भएको नियमावली अब केही दिनभित्र राजपत्रमा प्रकाशित हुनेछ।
सरकारले सार्वजनिक खरिद नियावलीलाई ११ औँ पटक संशोधन गरेको हो। यसैगरी, बैठकले काठमाडौंको फोहोर व्यवस्थापनलाई तत्काल पहलकदमी लिने निर्णय गरेको छ। काठमाडौंको फोहोर व्यवस्थापन गर्न तत्काल बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयवासीसँग समन्वय गर्ने र देखिएका समस्या समाधान गर्न प्रक्रिया थाल्ने निर्णय भएको उनले बताए।
मन्त्रिपरिषद बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावसमेत स्वीकृत गरेको छ। सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको छ।