पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प छैन -वरिष्ठ नेता रामचन्द्र पौडेल

 काँग्रेस     २०७८, २३ फाल्गुन सोमबार २१:४९     107 जनाले पढ़िसके



Spread the love

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

नेपाली कांग्रेस बन्दीपुर गाउँसमितिले आज डुम्रेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेकाले पार्टीलाई सशक्त र एकजुट बनाउनुपर्नेमा जोड दिए ।

कांग्रेस एकजुट भए मात्रै विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्छौँ, पार्टीभित्र भएका असमझदारीलाई हटाउँदै एकता कायम गर्नुपर्छ, उनले भने। एकता नै नभए विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ । वरिष्ठ नेता पौडेलले जनताको सेवालाई मूल धर्म सम्झिएर कार्यकर्ता गाउँगाउँ पुगेर कांग्रेसको प्रचार गर्नुपर्ने जोड दिए ।

वरिष्ठ नेता पौडेलले अहिले रहेको चार दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने जोड दिएका छन् । समावेशी संविधानका लागि एउटै पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गरेर जाँदा कांग्रेसलाई नै फाइदा पुग्ने धारणा व्यक्त गरे । संविधान रक्षाका लागि पहिला गठबन्धन गरेका हौँ, अब पनि गठबन्धनलाई निरन्तरता दिनुपर्छ”, उनले भने । कांग्रेस जहाँ जहाँ कमजोर छ त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई नै फाइदा पुग्ने उनको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले एमसीसीका बारेमा जनतामा फैलाइएको भ्रम चिर्न आवश्यक रहेको बताए । एमसीसी नेपालको गरिबी निवारणका लागि उपयोगी हुने उनको भनाइ थियो ।

वरिष्ठ नेता पौडेल बन्दीपुरको झारगाउँमा आयोजित कार्यक्रममा पनि सहभागी भएका थिए ।साथै उनले व्यास नगरपालिका–४ मा आइतबार आगलागीबाट क्षति भएको स्थलको निरीक्षण गर्दै पीडित परिवारलाई सान्त्वना दिएका थिए।