माओवादी केन्द्रीय कमिटीले आजै पूर्णता पाउने, पदाधिकारी चयन निर्वाचनपछि : हरिबोल गजुरेल

 #माओवादी     २०७८, २३ फाल्गुन सोमबार १७:३८     101 जनाले पढ़िसके



Spread the love

काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले आजै केन्द्रीय कमिटीले पूर्णता पाउने बताएका छन्। शीर्ष नेतारुको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटी पूर्णताका लागि प्रस्ताव गरेको र सो प्रस्तावमाथि छलफल भइरहेको बताए। ‘केन्द्रीय कमिटीलाई आजै पूर्णता दिएर बैठक सकाउने भन्ने हो,’ उनले भने।

उनले बाँकी रहेका एमसीसीको विषय, पदाधिकारी चयन, स्थायी कमिटी र पोलिटव्युरो कमिटी पछि चयन हुने बताए। ‘महाधिवेशनलगत्तै पदाधिकारीलगायतका कमिटीहरुले पूर्णता पाउनुपर्ने हो। तर त्यो हुन सकेन। अहिलेको समयमा पनि त्यो सम्भव छैन। त्यही भएर अहिलेलाई केन्द्रीय कमिटीलाई पूर्णता दिएर बाँकी अर्को बैठकमा टुंग्याउने भन्ने हो,’ उनले भने।

उनले बाँकी विषयहरु स्थानीय तहको निर्वाचनपछि मात्रै टुंग्याउने संकेत गरे। ‘अहिलेको कोर्स भनेको चुनाव हो। हामी त्यता केन्द्रीत हुनुपर्छ। वैकल्पिकसहितको पूर्ण केन्द्रीय कमिटी बनाएर सबैलाई सकेसम्म आजै जिम्मेवारी दिएर पठाउने तयारी भइरहेको छ,’ उनले भने।

माओवादी अध्यक्ष प्रचण्डले ९७ जना केन्द्रीय सदस्य प्रस्ताव गरेका छन्। सोही प्रस्तावमाथि शीर्ष नेताहरुको छलफल चलिरहेको नेता गजुरेलले बताए।