राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको बताएकी छन् ।
शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले यस्ताे बताएकी हुन् ।
यस्ता खालका विविध पर्वका माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई हाम्रो बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने उनकाे भनाइ छ ।
‘हाम्रो देश नेपाल जसरी भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त छ, त्यसैगरी सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित छ’, भण्डारीले जारी गरेकाे सन्देशमा उल्लेख गरिएकाे छ।उनले शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अंग भएको पनि बताएकी छन् ।