सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा भएको बैठकले आजै संसदमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव टेबुल गर्ने निर्णय गरेको हो।
बैठकले राष्ट्रियसभाबाट प्राप्त लोकसेवा आयोग विधेयकसमेत संसद बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा एमसीसी टेबुल भएपछि संसदको अर्को बैठक फागुन १२ गते बस्नेसमेत कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेको छ।
बैठकमा माओवादी केन्द्रले भने उक्त निर्णयविरुद्ध लिखित असहमति राखेको छ। माओवादी केन्द्रका देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले लिखित असहमति जनाएका हुन्।
उनीहरुले देशव्यापी विरोध भइरहेको एमसीसी सम्झौताका कतिपय बुँदा माआृेवादी केन्द्रको असहमति र आपत्ति रहँदै आएकाले यथास्थितिमा संसदमा टेबुल गर्न नहुने भन्दै असहमति व्यक्त गरेका छन्।
एमसीसीबारे राष्ट्रिय सहमति हुनुपर्ने तथा संसद सुचारु हुनुपर्ने उनीहरुको तर्क रहेको छ। ‘तसर्थ राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जन को कुनै सुनिश्चितता नभएको र संसद अवरुद्ध नै रहेकाले एमसीसी संसदमा टेबुल गर्ने विषयमा हाम्रो गम्भीर असहमति रहेको व्यहोरा अनुरोध गर्दछौं’, उनीहरुले भनेका छन्।आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अनुपस्थित भएको प्रमुख प्रतिपक्षी एमालेले आजको संसद बैठक पनि अवरुद्ध गर्ने जनाएको छ।
