एमसीसी टेबुल गर्नेबारे गठबन्धन भित्रको दल राष्ट्रिय जनमोर्चाले संसदमा विरोध गर्ने

 संवाददाता    २०७८, ८ फाल्गुन आईतवार १२:४५     103 जनाले पढ़िसके



Spread the love

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबुल गर्ने विषयलाई लिएर सत्ता गठबन्धनमै विरोध भएको छ । आफूहरूसँग छलफल नै नगरी एमसीसी टेबुल गर्ने निर्णय भएको भन्दै गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले विरोध जनाएको हो ।

गठबन्धनका प्रमुख चार दलको बैठकमा जनमोर्चालाई बोलाइएको थिएन ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी टेबुल गर्ने निर्णयमा आफूहरूको आपत्ति रहेको बताए । ‘यो गठबन्धनको निर्णय होइन, चार दलका केही नेता बसेर गरेका हुन् । हामीले संसदमा विरोध गर्दै आएका छौं, टेबुल गर्ने बेला पनि विरोध गर्छौं,’ केसीले भने ।

केसीले एमसीसी जबरजस्ती अगाडि बढाइए गठबन्धनको भविष्य संकटमा पर्ने बताए । ‘प्रतिगमनलाई छेक्नको लागि गठबन्धन बनाइएको हो, अमेरिकासामु लम्पसार पर्नको लागि होइन,’ केसीले भने । आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ ।