एमसीसीबारे निर्णायक छलफल गर्न देउवाले बाेलाए भोलि गठबन्धनकाे बैठक

 संवाददाता    २०७८, ४ फाल्गुन बुधबार १६:१४     95 जनाले पढ़िसके



Spread the love

सरकारले आज बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता टेबल नगर्ने भएको छ । जबर्जस्ती एमसीसी टेबल गरिए सरकारबाट बाहिरिने माओवादी केन्द्रको चेतावनीपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका हुन् ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आज एमसीसी सदनमा टेबल नगर्ने सहमति भएको हो । दुई नेताबीच भोलि शीर्ष नेताहरूको निर्णायक बैठक डाक्ने सहमति पनि जुटेको छ । भोलि दिउँसो ३ बजे गठबन्धनकाे बैठक डाकिएको छ ।

त्यसअघि आजै बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी पारित नगर्ने निर्णय गरेको थियो । बैठकमा प्रचण्डले एमसीसी जबर्जस्ती टेबल गरिए सरकारबाट बाहिरिने जानकारी गराएका थिए ।

पहिला संसद सुचारु हुनुपर्‍यो । सहमति हुनपर्‍यो । सहमति नभइकन पेस भयो भने त्यसपछि सरकारमा बस्ने कि नबस्ने भन्ने हुन्छ, हामी पर्‍यो भने सरकार छोड्छौँ,’ संसदीय दलको बैठकमा प्रचण्डले भनेका थिए, ‘आज टेबल नगर्नको निम्ति हामी अनुरोध गर्छौं, जबर्जस्ती टेबल भयो भने त्यसबाट पर्ने सबै असर व्यहाेर्न तयार छौँ, सरकार छोड्ने हो कि गठबन्धन तोड्ने हुन्छ कि परेको व्यहोर्ने हो ।’

संसदीय दलको बैठकलगत्तै प्रचण्ड प्रधानमन्त्री देउवासँग भेट गर्न बालुवाटार पुगेका थिए । प्रचण्डसँगको छलफलपछि देउवा आज एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।