उपत्यकामा बन्दको प्रभाव छैन, सुरक्षा सतर्कता उच्च

 संवाददाता    २०७८, ४ फाल्गुन बुधबार ०८:४९     109 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । पाँच वटा साना कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आह्वान गरेको नेपाल बन्दको प्रभाव परेको छैन । एमसीसी सम्झौता संसद्‌मा टेबल गर्ने तयारीको विरोधमा आह्वान गरिएको बन्दको प्रभाव नरहेको प्रहरीले जनाएको हो ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका छन् । तर, काठमाडौँ उपत्यकासहित देशभरको सवारी आवागमन, शैक्षिक सङ्ख्या तथा बजार व्यवसाय सामान्य रूपमै सञ्चालनमा रहेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिए ।

उनकाअनुसार बन्दसँगै एमसीसीको विरोधमा हुनसक्ने प्रदर्शनलाई मध्यनजर गरेर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘बन्द भनेपछि अरू दिनको तुलनामा सवारीको आवागमन कम हुने नै भयो, प्रवक्ता केसीले भने, ‘तर बन्दकर्ता सडकमा देखिएका छैनन् । हामी चोक तथा सम्भावित स्थानमा प्रहरी परिचालन गरेका छौँ ।’

नयाँ बानेश्वर, माइतीघरलगायतका क्षेत्रमा बिहानैबाट प्रहरी परिचालन गरिएको छ । ‘मन्त्रालयबाटै देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन आएको छ । त्यहीअनुसार प्रहरी ‘हाई अलर्ट’मा छ, उनले भने ।

देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन
सरकारले कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गरी देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई त्यस्तो निर्देशन दिएको हो ।