काठमाडौं– सरकारले आठजना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले सचिवको सरुवा गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयकी देव कुमारी गुरागाईंलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा गरिएको छ भने वाणिज्य सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा पठाइएको छ।
भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद थपलियालाई पठाइएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (प्रविधि) सचिव सुरेश आचार्यलाई सरकारले खानेपानी मन्त्रालयमा सरुवा गरेको छ भने खानेपानी मन्त्रालयकी प्रमिलादेवी बज्राचार्यलाई शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ।