काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्ति दिएको छ ।
सरकारले गएकाे सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको महानिर्देशकमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेकाे थियाे । आज बिहीवार मन्त्रालयमा अधिकारीलाई नियुक्ति पत्र प्रदान गरिएको हो । नियुक्ति पत्र प्रदानसँगै आजै अधिकारीले आफ्नो पदभार सम्हालेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
सरकारले उनलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा १९ बमोजिम आउँदाे चार वर्षका लागि प्राधिकरणको महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेकाे थियाे ।
यसअघि मन्त्रालयले अर्को निर्णय नहुन्जेलसम्मका लागि भन्दै गएको पुस २५ गते प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरलाई निमित्त महानिर्देशक नियुक्त गरेको थियो । यसअघि गएकाे कात्तिक १० गते राजकुमार क्षेत्रीलाई सञ्चालक समितिले चार वर्षे कार्यकालका लागि महानिर्देशकमा नियुक्त गरेको भए पनि उनले उमेर हदका कारण गएको पुस २३ गते मन्त्रालयबाट अनिवार्य अवकाशको पत्र पाएका थिए ।