१४ जिल्लाका प्रजिअलाई बिहानै गृहमन्त्री खाँणको फोन

 संवाददाता    २०७८, २० माघ बिहीबार १०:२७     133 जनाले पढ़िसके



Spread the love

गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरूसँग जानकारी लिएका छन् । उनले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिएका हुन् ।

गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरी जानकारी लिएका उनको सचिवालयले जनाएको छ । फोनवार्तामा गृहमन्त्री खाँणले जिल्लामा कोभिड–१९ सङ्क्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनुपर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर सोधपुछ गरेका थिए ।

उनले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव (सुनसरी), काशिराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कटुवाल (बारा), ध्रमेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रूपन्देही) सँग टेलिफोन वार्ता गरेका हुन् ।

गृहमन्त्री खाँणले चक्रपाणी पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हिरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर) तथा नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग पनि कुराकानी गरेका थिए । कञ्चनपुरका प्रजिअ पाण्डेले गृहमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्याङ्कबारे जतिबेला पनि जानकारी राख्न सजक गराएको बताए ।