नक्कली पीसीआर रिपोर्ट बनाउने दुई ल्यावका चारजना कर्मचारी पक्राउ

 संवाददाता    २०७८, १९ माघ बुधबार १२:२५     74 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चारजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी हस्पिटल र काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालका कर्मचारी नक्कली पीसीर रिपोर्टसहित पक्राउ परेका हुन्।

दुवै अस्पतालले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट नेपाल सरकारले तोकेभन्दा बढी रकम लिइ स्वाबको नमूना समेत नलिइ नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको पाइएको छ।

नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सूचनाको आधारमा मंगलबार बिहान १०: ३० बजेतिर नागरिक कम्युनिटी टिचिङबाट जारी भएको ८ थान नक्कली पीसीआर रिपोर्टसहित सो अस्पतालका कर्मचारी रोशन कुमार छिट्टानलाई एयरपोर्टबाट र अर्का कर्मचारी हस्पिटलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस्तै, कान्तिपुर अस्पतालका कर्मचारीको परिचयपत्र भएका नगेन्द्र कुमार यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको साथबाट १७ थान नक्कली पीसीआर रिपोर्टसहित अस्पताल अगाडिबाट नियन्त्रणमा लिएको हो। त्यस्तै सोही अस्पतालका ल्यावका कर्मचारी माधव मैनालीलाई पनि ४ थान नक्कली पीसीआर रिपोर्टसहित पक्राउ गरेको हो।

राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबरमा दुवै अस्पतालका ल्याबबाट पीसीआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएका कम्प्युटरलगायतका उपकर र पीसीआर टेस्ट दर्ता रजिष्टरहरु समेत नियन्त्रणमा लिएको छ।

दुवै ल्याबका सञ्चालक भावेश मित्र र निर्मल गरी तथा पीसीआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकको खोजतलास भइरहेको छ। साथै दुवै अस्पतालका पीसीआर ल्याब सिल गरी पीसीआर सम्बन्धी सबै सेवा हाललाई बन्द गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।