पूर्वप्रधानमन्त्री ओलीविरुद्धको उजुरी दर्ता गर्यो भक्तपुर जिल्ला प्रशासनले

 संवाददाता    २०७८, १७ माघ सोमबार १७:४२     93 जनाले पढ़िसके



Spread the love

कोरोना संक्रमित भएको अवस्थामा स्वास्थ्य मापदण्डविपरीत सार्वजनिक स्थानमा निस्केर संक्रमण फैलाएको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था युथ कंग्रेसका केन्द्रीय सदस्य अभिजित अधिकारी र वीरेन्द्र मडैले दिएको उजुरी जिल्ला प्रशासन कार्यालय भक्तपुरले दर्ता गरेको हो।

युथ कंग्रेसका केन्द्रीय सदस्य अधिकारीले आइतबार दर्ता नभएको उजुरी आज दर्ता भएको जानकारी दिए। जिल्ला प्रशासन कार्यलय भक्तपुरका अनुसार उजुरीको दर्ता नम्बर १,१२२ रहेको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई सम्बोधन गरिएको उजुरीमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीको माग गरिएको छ। उजुरीमा गत माघ १२ गते ओली कोभिड संक्रमित हुँदाहुँदै बालकोटमा युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भई अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई संक्रमण फैलाउने कार्य गरेकाले आवश्यक कारबाही गर्न माग गरिएको छ।

संक्रामक रोग ऐन, २०२० को दफा ३ मा ऐन उल्लंघन गर्नेलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। ऐनले यसअन्तर्गत कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी दिएको छ।