नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यलय भक्तपुरमा उजुरी परेको छ।
कोरोना संक्रमित भएकै अवस्थामा सरकारले जारी गरेको आइसोलेसनसम्बन्धी नियम तोडेको आरोपमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्न मागसहित ओलीविरुद्ध उजुरी परेको हो।
ओलीमाथि कारबाही मागसहित अभिजित अधिकारी र वीरेन्द्र मडैले आइतवार उजुरी दिएका हुन्।
यही माघ १२ गते पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफू कोभिड संक्रमित हुँदा हुँदै युवा संघले बालकोटमा गरेको रक्तदान कार्यक्रममा सहभागी भएर हुलहुज्जत गरेको आरोप उजुरीमा लगाइएको छ।
‘ओलीले युवा संघको कार्यक्रममा आफूलाई कोरोनाको सामान्य संक्रमण भएको भनि भाषण गरिरहेको भिडियो सार्वजनिक भएको थियो। कोरोना संक्रमित ओलीको उपस्थिति र उल्लेखित भाषणबारे विभिन्न पत्र पत्रिका एवम् सञ्चारमाध्यममा समेत समाचार आएका थिए’, उजुरीमा भनिएको छ, ‘यसरी आफू कोरोना संक्रमित भई जानीजानी सार्वजनिकस्थलमा अन्य व्यक्तिसँग सम्पर्कमा आई कोरोना फैलाउने कार्य गरी संक्रामक रोग ऐन, २०२० विपरीत गरेकाले कानुन बमोजिम कारवाही गरिपाऊँ।’उजुरीमा संक्रमित हुँदा हुँदै सार्वजनिक स्थानमा ओलीको उपस्थिति र भाषणले समाजमा कोरोना फैलाउनुका साथै आम जनमानसमा कोरोनाको कहर सामान्य रुघा खोकी मात्रै भएको भ्रम सिर्जना गर्न सक्छ’, उजुरीमा अगाडि भनिएको छ, ‘यदि आवश्यक कारबाही नभए अरु कोरोना संक्रमितहरुले समेत मापदण्ड पालना नगरी आफूलाई आइसोलेट नगरी समाजमा अझ संक्रमण बढाउन सक्ने देखिन्छ। तसर्थ, विधिको शासन अनुशरण गर्दै संक्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिम यथाशिघ्र ओलीमाथि कारबाही गरिपाऊँ।’