काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघे संक्रान्ति (माघी) पर्वको शुभकामना दिएका छन् । आज नेपालका थारु समुदायले माघी तथा मगर र अन्य समुदायले माघे संक्रान्ति (मकर संक्रान्ति) पर्व मनाउँदै छन् ।
माघे संक्रान्तिको अवसरमा प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धिका साथै सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन् । ‘नेपाल भौगोलिक एवं सांस्कृतिक विविधताले भरिएको मुलुक हो। हाम्रो आफ्नो मौलिक परम्परा र संस्कृति अनुरुप एउटै पर्वलाई पनि भिन्नभिन्न भूगोल र समुदायमा मनाउने प्रचलन रहेको छ,’ प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ, ‘यसलाई नेपाली समाजमा सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणका रुपमा लिन सकिन्छ । यी चाडपर्वले नयाँ उमङ्ग र उत्साहका साथ एकआपसमा एकता र भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।’
नेपाली समाज, राष्ट्रिय एकता र अखण्डताको जग बलियो बनाउन पनि यस्ता सांस्कृतिक पर्वहरुले आधार स्तम्भको काम गर्ने भन्दै प्रचण्डले विभिन्न समुदायका आफ्ना मौलिक पर्वहरु नेपाली समाजको एकताको प्रतिक भएकोसमेत बताएका छन् । सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने कार्य पनि यस्ता पर्वले गर्ने प्रचण्डको भनाई छ ।
विश्वभर पुनः फैलिएको कोरोना भाइरसको महामारीका कारण चाडपर्व मनाउँदा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गर्न पनि प्रचण्डले आग्रह गरेका छन् ।